शिवहरी खतिवडा ,
कल्लेरी, धादिङ ।
धादिङ छोडेको पनि महिनौँ भएछ । हुन त मैले धादिङ छोडेर कुनै विदेश गएको होइन तर पनि मलाई आफ्नो जिल्ला छोड्दा ठूलै कुरा गुमाएको जस्तो भान भइरहेको छ । आज एकाएक एकान्तमा बसेर मौन भएर सोच्दा मैले मेरै धादिङलाई नै सम्झिरहेको हुन्छु । आखिर मलाई मेरो धादिङले के पो दिएन न र? मेरो आमाले जन्म दिएपछि हुर्काएर बढाएर पढाएको नै मेरै धादिङले न हो । धादिङको कुना कुना कन्दरा अनि पहरा सबै मेरो लागि खेलौना बनेको थियो । आज मलाई त्यही सम्झनाले सताइरहेको अवस्था छ ।
मेरो सम्झनामा हुन्छ आखिर मेरो धादिङजस्तो यो अनकन्तार काठमाडौँमा कहाँ पो छ र? धादिङ अर्थात् मेरो जिल्ला जहाँ बिरानो मान्छे आफ्नो हुने गरेको थियो । कहिल्यै नचिनेको मान्छे पनि दुई दिनको उठबसमा आफ्नो मान्छे हुने गरेको थियो तर अपसोच यहाँ त आफ्नो मान्छे बिरानो हुने रहेछन् चिनेकैले जिन्दगीमा ठूलो कुठाराघात गर्दा रहेछन् अनि बिरानो मान्छे कहिल्यै आफ्ना हुँदा रहेनछन् । हुन पनि आफ्नै मान्छे आफ्नो हुँदैन भने अरूको पो के भर र । यस्तो पिडामा मुछिएर बस्नुपर्दा मलाई एक मनले त फेरी आफ्नै जिल्ला फर्केर जाउँ जस्तो लाग्छ तर पनि मन सम्हालेर बसेको हुन्छु । अर्को मनले सोच्ने पनि गर्दछु कि मैले मेरो जिल्ला छोड्दा आफ्नो माता पिता र समाज पो छोडेको छैन त । मेरो केही आफ्ना मान्छे त मैले अवश्य गुमाएकै छु नि तिनीहरूको लागि पनि मैले केही सोचेर मात्रै जिल्ला फर्कनु उपयुक्त होला । त्यही सोचको लागि आज मैले यो बिरानो राजधानीमा बिरानो सङ्घर्ष गरिरहेको छु । थाहा छैन त्यो कुरा मैले कहिले पाउँछु र कहिले म फेरी फर्कन पाउँछु मेरो धादिङ ।
साँच्चै धादिङ, ती सम्म सल्यान टार साथीहरू सँगै जाँदा खाल्टेको चमेरे गुफा, कोहीको गुफा चढ्न नसक्दाको रुवाबासी तथा कोही हराएर चलेको रुवाबासीको घटना आफैँमा दुखी भए पनि मेरो सम्झनाको लागि अझै ताजा घटना बनेको छ । त्यसै गरी सानामा गोठालो जाँदा खेल्ने गरेको गुप्तेश्वरी गुफा कलेज पढ्दा साथीहरूसँग जिस्कँदै जिस्कँदै पुगेको नलाङको सिद्धलेक, एउटा दुखी घटनाको सुखी रिपोर्टिङको लागि पुगेको विकट चेपाङ बस्ती, एउटा संस्थाको सहयोगमा देखेको उत्तरी धादिङको यथार्थ चित्र, अनि बेलाबेला हितैषी साथीहरूको माझमा घुम्ने गरेको नागबेली धादिङ बेसी बजारको दृश्य अहिले पनि मेरो आँखामा ताजै छ । उता खेती किसानको तरकारी कुहियो भन्दै धादिङको थाक्रे, आदमघाट, बेनिघाट लगायतका स्थानका कृषकहरूसँग गरेको साक्षात्कार मेरो मनमस्तिष्कबाट कहिल्यै हराउन सक्दैन ।
हुन त केही समय मिलाएर अहिले पनि धादिङ जाने गरेको हुँ, तर दुर्भाग्य ती अगाडीका दिनहरू अब मेरो जीवनमा कहिल्यै आउने छैनन् । त्यो राम्रो होस वा नराम्रो । हुन पनि टुकीको छायामा परेको जिल्ला छ मेरो । राजधानी देखी राजधानी बाहिरसम्मका सबै कार्य मेरो धादिङकै भूमिमा टेकेर हुने गरेको छ । तर प्रचारमा मेरै जिल्ला पछाडि छ, विकासमा त्यस्तै कछुवाको ताल छ । तर जहाँ जे भए पनि म मेरो धादिङलाई माया गर्दछु । म ती सुन्दर गणेश हिमाललाई माया गर्दछु, अनि ती सुन्दर शीतलता दिने सिद्धलेकलाई माया गर्दछु । र जिन्दगीमा पहिलो पुगेको ती सुन्दर भैरवी डाँडालाई माया गर्दछु । ती त्रिशूली तथा थोपलमा पौडी खेल्न जाँदा खाएको पानीको माया गर्दछु र अन्त्यमा म मेरो धादिङलाईमा माया गर्दछु , आई लभ यु धादिङ !

