उत्तर आधुनिक नेपाली साहित्यका विशिष्ट युवा स्रष्टा र साधक हुन् समदर्शी काइँला । विशेष गरी भाषिक, जातीय, सांस्कृतिक तथा संरचनागत विविधताले भरिएको नेपाली समाजमा साहित्यिक लेखन र सृजना विविधतायुक्त र बहु आयामिक हुनु पर्छ भन्ने मान्यताका साथ आएको बहुरंगवादको प्रयोगले नेपाली साहित्यिक समालोचना र सिद्धान्तमा व्यापक प्रभाव राख्न सफल भयो । सोही बहुरंगवादको परिकल्पना र प्रवर्तकमध्ये एक हुन् समदर्शी काइँला, जो यतिखेर संयुक्त अरब इमिरेट्समा रहेर अनेसास र विनेसाम लगायतका साहित्यिक संस्थामा आबद्ध भई आफ्नो साहित्य सिर्जना तथा अन्य साहित्यिक गतिविधिलाई अगाडी बढाउँदै आएका छन् । उनलाई नजिक बाट नियाल्नेहरू साहित्य र भाषाको चिन्तक र विश्लेषकको रूपमा पनि हेर्ने गर्छन् । उनका काव्यिक सृजना र समालोचनाहरूमा गहन विचारधारा, दृष्टिकोण र सैद्धान्तिक चेतनाको उपस्थिति प्रगाढ रहेको हुन्छ ।
उनले यसअघि ‘मान्छेको आत्महत्याको जग्गा’ र ‘म अमेजन उकालो बग्छु’ काव्य संग्रह प्रकाशित गरी सकेका छन् । हालै उनको काव्यकृति ‘म अमेजन उकालो बग्छु’ एमफिलको सन्दर्भ पुस्तकका रूपमा समेत राखिएको छ । प्रस्तुत छ उनै युवा स्रष्टा समदर्शी काइँला र साहित्य संसारका कृष्णपक्षबिच भएको कुराकानी ।
प्रश्न न १, तपाई आफ्नो परिचय कसरी दिनुहुन्छ?
चिनाको नाम मनकुमार लावती । साहित्यिक नाम समदर्शी काइँला । यतिबेला साहित्यको स्कूल अफ थडको एक जना विद्यार्थी मात्र हुँ ।
प्रश्न २ साहित्यिक नाम समदर्शी काइँला राख्नुको कारण के हो ?
एक दिन मैले बाँचेको एलियट र सबाल्टर्न वर्गबिचको समाजमा भेदभाव पक्षपात देखेर मन सारै रोयो । त्यसो र म समदर्शी भएँ समानुपातिक समावेशितामा । काइँला ता परिवारमा चौथो छोरा हुँले र मेरा पूजनीय मामा कवि वैरागी काइँलाको नामको सिकोबाट र प्रभावबाट पनि भयो ।
प्रश्न ३ संक्षिप्तमा सामान्य बहु रङ्गवादलाई परिभाषित गर्नुपर्दा कसरी गर्नुहुन्छ?
अहिले सम्मन् धेरै वादहरू हामीले पश्चिमबाट ओसारेका छौँ स्यानु बिरुवाजस्तो ल्याएर हाम्रो साहित्यिक माटोमा रोपेका छौँ । तर यही माटोमा उम्रेको बिरुवा हो बहु रङ्गवाद ।यो नवीनता बहुलता मौविनिहासा आदि मलजलले हुर्कँदो छ । सिद्धान्तमा अलिकति पस्दा लेखकको मृत्यु बदर गर्दै बहु रङ्गवादले चिद्वैषम्यद्धारा अर्थको मृत्यु सदर गर्दै सिम्युलेक्रामा एम्बीगुइटीको जन्म भई हाइपर रियालिटीलाई भेटिवरी अगि बढ्दै सपथोकको सिम्युलेक्राले वस्तुता मरेको घोषणा गर्दछ । किनाराबाट स्पेस खोज्दै बहुलता नवीनता समानता र मौविनिहासा आदिले अलिकता मौलिकता कराउँदै प्रतिपादित साहित्यमा जीवन जगत् समाज संस्कृति आदि यावत् कुराको फोटो हेरेर चुप लाग्छ बहु रङ्गवाद ।अन्तिम सत्य अन्तरिम मान्दै सन्दिग्धता पाउँछ । यसले तेस्रो वस्तुको सत्त्व परा भौतिक आयाम सम्मन् मनाद्वारा चिद्वैष्म्यद्धारा सुटुक्क लुकाएर हिँड्छ सग्लो सौन्दर्य निर्माणको लागि विचारको विलक्षण विस्फोट भएर सुरूप कुरूप वस्तुको लाखौँ रूप भेट्दै भेट्दै त्यहाँदेखिन् पनि गतिशील सर्व दृष्टिकोणले व्यक्ति सर्वोच्चतामा अगि बढ्छ बहु रङ्गवाद ।
प्रश्न न ४ नयाँ काव्य म अमेजन उकालो बग्छु को मूल मर्म के हो?
संक्षिप्तमा भन्दाखेरि पहिलो ता आयामेली कवि वैरागी काइँलाको गङ्गा नीलो बग्छु को विनिर्माण हो । दोस्रो नेपालका दिग्गज कविहरू मोहन कोइराला मदन रेग्मी ईश्वर वल्लभ डा बानिरा गिरि असित राई लगायतका मास्टर पिस लामा कविताहरूमाथिको पुनर्लेखन र नवलेखन हो ।अन्तिम सत्य परम्पराको विरोध र नेपाली वैकल्पिक आधुनिकताको गवेषण यसैमा आए । तेस्रो अधि भाषिक सचेतनको खेल वि संरचना बौद्धिकता कला व्यक्तिको मनोविज्ञान र ज्ञानले निर्मित काव्यिक स्वायत्तता ज्ञापक र ज्ञापितको अस्थिर अनिश्चित सम्बन्धन हो म अमेजन उकालो बग्छु । एमफिलको तहमा बौद्धिकता र दर्शनको यो तहमा सन्दर्भ कोर्समा राखिएको यो मेरो कविता म अमेजन उकालो बग्छु ले बौद्धिक स्वीकृति पाउँदा म निस्सीम खुसी छु ।
प्रश्न नं ५ आफ्ना पूर्वप्रकाशित कृतिहरूबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
म पूर्ण सन्तुष्ट छु यी कृतिहरूबाट । मेरो पहिलो कविता सङ्ग्रह मान्छेको आत्महत्याको जग्गा हो । जसमा आधा नेपाली कविता र आधा अङ्ग्रेजी कविता परेका छन् । यो दि ल्यान्ड अफ म्यानस् सुसाइड अर्थात् मान्छेको आत्महत्याको जग्गा खास गरि टि एस इलियटको दि वेस्ट ल्यान्डको प्रतिविचार प्रतिचिन्तन हो । यसले मलाई नाम र दाम दुवै दिएको छ । पाठकहरूले पनि यसबाट धेरै कुरा पाएको स्वीकरण छ । दोस्रो कृतिले पनि यत्तिको राम्रै गर्यो ।
प्रश्न नं ६ के तपाईँका कृतिहरूले अपेक्षित पाठकहरू भेटेका छन्, जसले कृतिमा सम्प्रेषित भावहरू ग्रहण गर्न सकुन् ?
अपेक्षित पाठकहरू ता भेटेका छैनन् । थारै पाठकहरूले मात्र मेरा कृतिहरू छिचोलेका छन् कारण मेरा कृतिले बौद्धिक पाठक खोज्दछ । हिपोक्रिटिकल रिडर र बौद्धिक पाठक गरेर पाठकलाई म दुई भागमा बाँड्छु । ती हिपोक्रिटिकल पाठकहरूले मेरा कविताहरू बुझ्दैनन् र बिना बित्थामा अमूर्त भयो भनिदिन्छन् । म ता भन्छु असलमा अमूर्त सृजना नै हुँदैन । जब पाठक मेरो इतिहास छैन मेरो जीवनी छैन मेरो केही छैन भनेर रुन थाल्छ त्यो रुन्चे पाठकले दर्शनको विचारको ठेली नै अध्ययन गरेको हुँदैन । ती पाठकले मेरा कवितामा सम्प्रेषित दर्शनकला बौद्धिकता बिम्ब आदिको मरिकाट्टे नापतौल गर्न सक्तैन । त्यसो र अब हामीले नै बौद्धिक पाठक उत्पादन गर्ने बेला आएको छ यदि हामी नेपाली साहित्यको स्तरियता र उन्नयन चाहन्छौँ भने । नेपाली साहित्यलाई विश्व साहित्यको दाँजोमा पुर्याउनु पर्छ भने लेखक र पाठक दुवैले अब तिर सोच्नु पर्दछ ।
प्रश्न नं ७ साहित्य सृजना किन गर्नुहुन्छ ?यो स्वतः प्रस्फुटित हुने अभिव्यक्ति मात्र हो या कुनै निश्चित उद्देश्य प्राप्तिका लागि लेखिन्छ साहित्य ?
म साहित्य सृजना जीवन जगत् र समाज रूपान्तरणको लागि गर्छु । यसलाई कतिले कोरा भावनाको चलखेल पनि भनेका छन् । कतिले उद्देश्यबेगरको साहित्य पनि रचेका छन् । साहित्य सृजना निश्चित उद्देश्यको लागि हुनु पर्दछ । टापटिपे भावनामा सिर्जित उद्देश्यबेगरको साहित्यले अर्थ महत्त्व र भूमिका राख्दैन ।
प्रश्न नं ८ वाद के हो नेपाली साहित्य वृत्तमा यसको प्रयोग कसरी भइरहेको छ? यदाकदा स्थापित सर्जकहरूबाटै यसको पक्ष विपक्षमा तर्क अभिमत र कटाक्षहरू सुनिन्छन् । यसबारे के भन्नुहुन्छ?
सारै सरल शब्दमा म बोल्छु है । वाद भनेको मुख्य सार कुरो झिक्न गरिएको सम्यक् विचार हो । जो सिद्धान्त बन्छ बनाइन्छ लागिका साध्यताले तर्क वितर्कबाट । विचार भएन र भावना मात्र भयो भने साहित्य हुँदैन । हामीले साहित्यमा व्याख्या विश्लेषण गर्दै आएको विचार नै बौद्धिकता हो । कति बैले अगि वाद जन्मिएको हुन्छ बौद्धिकता विधि र प्रविधिको आफसे आफ खानतलासी हुँदै त्यो हामी कतिले बोध गर्न नसकिराखेकोले वादमाथि विवाद आएको छ । बहस र कटाक्षहरू आएका छन् । असलमा वाद के हो भन्ने कतिपय हामीले अझै बुझ्नै सकेका छैनौँ । र यसमाथि गलत व्याख्या विश्लेषण भई रहेछ । म भन्छु प्रत्येक सृजनामा वाद हुन्छ । वाद हुनुपर्दछ । तर कसैले वाद आफ्नो स्वकीय फैसलाबाट वैचारिक सार झिकेर जानेर प्रयोग र उपयोग गरेका हुन्छन् भने कतिले नजानेरै अरूको विचार बोकेर आउँछन् त्यो त्यहीँ वाद हुन्छ । तर जे भए पनि वाद चाहिँ हुन्छ नै साहित्यमा । नयाँ सिद्धान्तकार इन्द्र बहादुर राई ज्याक डेरिडा फर्डिनन्ड डिसस्यूर रोलाँ बार्ट धर्मेन्द्र बिक्रम नेम्बाङ फुको ल्योतार हाङ्युग अज्ञात जुलिया कि्रस्टेभा बोदि्रयार ज्याक लकाँ जेमसन आदिद्वारा प्रतिपादित नयाँ दर्शन विचार नभएको भए साहित्य यत्तिको शक्तिशाली गहन र असली हुने थिएन ले म वादको पक्षमा हस्ताक्षर गर्छु ।
प्रश्न नं ९ सामान्य बहु रङ्गवादलाई पाठकले कसरी हेरेका छन् यसको प्रतिक्रिया कस्तो छ ? कसरी व्याख्या भई राखेको छ बहु रङ्गवादको आम सर्जक पाठकहरूमा? जुन मर्मका साथ यो प्रतिपादित भयो त्यसरी नै सबैले बुझेका छन् भन्ने लाग्छ तपाईँलाई ?
अगि माथि नै भनेँ, दुई खाले पाठकहरू छन् नेपाली साहित्यमा । हिपोकि्रटिकल पाठक र बौद्धिक पाठक । हिपोकि्रटिकल पाठकहरूले बहु रङ्गवादलाई बुझेर पनि बुझेनन् । उनीहरू वाद होइन विवाद चाहन्छन् अबौद्धिक भएकोले र खाली पाखण्डी समालोचना गर्छन् । केही बौद्धिक पाठकले चाहिँ बहु रङ्गवाद लाई राम्ररी गहिराई सम्मन् बुझेका छन् र बोलेका छन् कि नेपाली साहित्यमा उब्जेको सबैभन्दा कान्छो तर शक्तिशाली विचार र एक आन्दोलन हो बहु रङ्गवाद। समालोचकहरू पनि यसभित्र पस्न थालेका छन् । यो सिद्धान्तमा रहेर लेख्ने लेखकहरू पनि ह्वात्तै बढेका छन् । हाम्रो मर्म अनुसार सप्पैले बहु रङ्गवादलाई बुझ्न जरुरी छ कारण हामी विश्व साहित्यजस्तै असली र शक्तिशाली नेपाली साहित्यको निर्माणमा छौँ । हामी आफ्नो स्पेस निर्माणमा छौँ । अबको नयाँ पुस्ताले बहु रङ्गवादलाई कुल्चेर अगि बढ्न हम्मे पर्छ भुलेर एक्काइसौं शताब्दीको प्रतिचिन्तनको इतिहास ।
प्रश्न नं १० समाज परिवर्तनको लागि साहित्यको कस्तो खाले भूमिका हुन्छ या हुँदैन ?
म समाज रूपान्तरणको लागि लेख्छु भनेर अगि नै भनेँ । लागिका लागि साहित्य लेख्दा जीवन जगत् र समाज बदल्नको लागि समाजलाई समृद्ध बनाउनको लागि साहित्यको ठूलो भूमिका हुन्छ हुनुपर्छ । उदाहरणको लागि बहु रङ्गवादले बहुलता नवीनता र मौविनिहासाको कुरा गर्यो र नै देश यतिबेला समावेशितामा जाँदो छ ।
प्रश्न नं ११ नेपाली साहित्य वोधगम्य भएनन् सिर्जनाहरू अमूर्त हुँदै गए भन्ने गुनासो गर्ने पाठकहरूलाई के भन्नुहुन्छ ? नेपाली साहित्यमा पाठकहरू कस्ता हुनुपर्छ?
अमूर्त सृजना हुँदैन । बुझ्न नसक्नु पाठकको अध्ययनको कमी हो ।आजका पाठक कस्ता हुनुपर्छ भन्ने सवालमा मैले धेरैपल्ट धेरै ठाउँमा जवाफ दिइसकेको छु । मेरो सत्त्व छैन मेरो इतिहास छैन भनेर सधैँ रुने पाठकले आजको जटिल वैश्विक परिवेशमा सिर्जित सृजनालाई केलाउन सक्तैन। भेडा गोठालो अब पाठक हुँदैन । दर्शन चिन्तनको गोठालो हुनुपर्छ आजका पाठक । लेखकले खेलाएको बिम्ब र ठाउँ सम्मन् पुग्नुपर्छ ती बौद्धिक पाठक भए । ती पाठकहरूले मात्र पर्गेल्न सक्छन् आजका असली साहित्य जुन मन र मस्तिष्कको संयोजनद्वारा लेखिएको हुन्छ ।
प्रश्न नं १२ प्रवासी नेपाली साहित्य डायास्पोरिक साहित्यको कस्तो स्थिति छ?डायास्पोरिक साहित्य कम महत्त्व दिइन्छ भन्ने गुनासो छ नि ?
शुरुमा डायस्पोरा शब्द ग्रीक शब्दबाट जन्म्यो । अहिले व्यापक र वैविध्य हुँदै गएको डायास्पोरिक साहित्यको स्थितिबारे डा गोविन्दराज भट्टराई ज्यूले लामो व्याख्या गर्नु भएको छ । म छोटकरीमा मात्र बोल्छु है ।यस बेला डायास्पोरिक साहित्यको बेसी महत्त्व दिएर यसलाई मूलधारको साहित्यमा नै उभ्याउन यत्न गरिरहेका छन् ।नेपालका वरिष्ठ समालोचकहरूले डायास्पोरिक साहित्यमाथि मन लगाएर लेख्न थालेका छन् मूल्याङ्कन गर्न थालेका छन् । यो अति गौरव र गरिमाको करा भो । हामी जो जत्ति आप्रवासमा रहेर साहित्य सृजनामा लाग्नेहरू छौँ अब मूलधारको साहित्यभित्र पस्न थालेका छौँ । यद्यपि एतिबेला बेबिलोदेखिन् निस्किएको डायस्पोरा शब्दको पुरानो अर्थ मर्दै छ । यसको नयाँ अर्थमा धेरै कुरा अटेका छन् । तीहरूलाई हाम्रा साहित्यमा अनिवार्यरुपमा ल्याउनुपर्छ । हो एतिबेला विश्व साहित्यको ठूलो पाटो यतातिर लागेको छ । म पनि लाग्दै छु ।
प्रश्न नं १३ प्रवासी साहित्य सर्जकहरूले प्रज्ञा प्रतिष्ठान जस्ता प्राज्ञिक क्षेत्रहरूमा समेत डायस्पोराको प्रतिनिधि भूमिका खोज्न थालिसकेका छन् । डायस्पोरालाई यसरी महत्त्व दिनु या सम्बोधन गर्नु कति आवश्यक छ? मूलधार र डायास्पोरिक भन्ने पृथकता नै नमान्ने सर्जकहरू पनि हुनुहुन्छ। तपाईँको अवधारणा के छ?
अति आवश्यक छ । नेपाली साहित्य अधकल्चो नै हुनेछ यदि डायास्पोरिक साहित्यलाई छोडिदिने हो भने । डायास्पोरिक समाजको सग्लो चित्र नै हराउने छ । तर फेरि डायास्पोरिक साहित्यलाई मूलधारको साहित्यमै मिसाएर पुरै हराइहाल्नु चाहिँ हुँदैन । कारण यसको सत्त्व र शब्द नै विलय हुन्छ त्यसो गर्दा नि । त्यस कारण पृथकता ठाउँको ठाउँ भेटेर इतिहासमा समान सत्त्व हुनुपर्छ यी दुवैको प्राज्ञिक थलोमा डायास्पोरिक एक कुनोमा उभिइरहनु पर्छ छ है को लागि ।
प्रश्न नं १४ विदेशमा बसेर साहित्यिक संस्थाहरू अनेसास र विनेसामसँग आबद्ध रही नेतृत्व गर्दै आउनु भएको छ । विदेशमा रहनु भएका पाठकहरूमा साहित्यप्रति कतिको अभिरुचि पाउनु भयो?
साँच्चै नै गारो छ नि विदेशमा बसेर साहित्यिक संस्थाहरूको नेतृत्व गर्नु । मूल कारण समय अभाव नै हो । सम्भावना र मन भएर पनि सृजना गर्न भ्याएको हुँदैन । आप्रवासमा रहने पाठकहरूमा साहित्यप्रतिको अभिरुचि प्रचुर पाएँ। यसको कारणहरू नोष्टाल्जिक मनोद्वेगले पनि होला। डायास्पोरिक संचेतनले पनि होला । फुर्सदको सही सदुपयोग पनि होला ।
प्रश्न नं १५ अन्तमा मैले सोध्न छुटेका र यहाँलाई भन्न मन लागेका कुरा केही छन् भने साहित्य संसारका पाठकलाई भन्नु होला ।
केही नै छुटेनछ भन्दा पनि भो । सप्पै कुरा मैले भनी नै सकेछु भएको जत्ति । अन्त्यमा आफ्नो विचार राख्न दिनुभएकोमा साहित्य संसार डट कमलाई म विशेष धन्यवाद दिन्छु ।
साहित्य संसारका लागि कृष्णपक्ष थापाले लिनु भएको अन्तवार्ता साभार गरिएको

