कृष्णपक्ष थापा, इजरायल । इजरायलमा कार्यरत नेपाली कामदारहरूले धादिङ जिल्लाका भुकम्प पश्चात क्षतिग्रस्त भएका र अझै सम्म निर्माण हुन नसकेका नौ विद्यालयहरूलाई मर्मत सम्भार र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेका छन् ।
रोजगारीको सिलसिलामा इजरायल पुगेका नेपालीहरूले यस अघि नै भूकम्प पीडित सहयोग अभियान सन्चालन गरी चरणबद्ध रूपमा भूकम्पले अति प्रभावित विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएका थिए ।
कर्मले संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो जन्मभूमि जन्मस्थानको सेवा गर्नु हाम्रो कर्तव्य हो भन्दै थालिएको सो अभियानमा सङ्कलन गरिएको ९ लाख ७२ हजार रुपैयाँ मिति २०७२-१०-१८ गते रूपनाथ पाठक र पवन सिलवाल मार्फत धादिङ जिल्लाका जिल्ला शिक्षा अधिकारी गणेश ढकालज्यूबाट सम्बन्धित विद्यालयका प्रतिनिधिहरूलाई उपस्थित गराई प्रत्येक विद्यालयलाई क्रमशः १ लाख ८ हजारका दरले हस्तान्तरण गरिएको थियो ।
सहयोग प्राप्त गर्ने विद्यालयहरूमा श्री सात थर निम्न माध्यमिक विद्यालय बुढाथुम (प्र. अ. बडानन्द रेग्मी ) , श्री तिनकन्या प्राथमिक विद्यालय कल्लेरी (प्र.अ. तेजराज सिंखडा ) , श्री शान्ति प्राथमिक विद्यालय सेम्जोङ (प्र.अ. लीला तामाङ ), श्री सरस्वती प्राथमिक विद्यालय मूलपानी (प्र.अ. शान्ति थापा), श्री जलजले भञ्ज्याङ प्राथमिक विद्यालय खहरे (प्र.अ.लक्ष्मीप्रसाद पाण्डे ), श्री सुन्दर प्राथमिक विद्यालय गजुरी (प्र.अ. लक्ष्मी अधिकारी ), श्री जनसेवा निम्न माध्यमिक विद्यालय गोगनपानी (प्र.अ. राजकुमार गुरुङ ), श्री मालिका प्राथमिक विद्यालय सलाङ (प्र.अ. एकबहादुर थापामगर ) र श्री सिमलगैरी निम्न माध्यमिक विद्यालय चैनपुर (प्र.अ. उदय सामरी ) रहेका थिए ।


कार्यक्रममा इजरायलबाट प्राप्त सहयोग रकम विद्यालयहरुले सम्बन्धित उद्देश्यका लागि खर्च गरी प्रतिवेदन पेस गर्ने सर्त अनुसारको सम्झौता पत्रमा जिल्ला शिक्षा अधिकारीको रोहबरमा दुवै पक्षका बिच हस्ताक्षर गरिएको थियो ।

