अमृता प्रीतम
निदाएको छ तिम्रो संझना
ठिङ्ग उभिएको थियो सुर्यको रुख
कसैले किरणहरु भाँचिदियो
कसैले चन्द्रमाको यो जरी–गोला
आकाशबाट च्याति लियो
कसैको निद्रालाई किन
सपनाले निम्त्यार्ई गए
ताराहरु उभि नै रहे
आकाशले बन्द गरिदियो आफ्नो ढोका
प्रेमका यी मेरा ठाउँहरुमा
तिम्रो संझनाले टाँका मारेथें–
आज निकालिदिएँ सबै टाँका
र आगो पनि तिमीलाई नै फर्काइदिएँ
कति पींडाले भरिएको छ
आज मेरो प्रेमको यो पवित्र ग्रन्थ
च्यातिदिएँ मैले यसमा भएका
सबै प्रतीक्षाका पानाहरु
पृथ्वीको उच्छबास सुनियो
र आकाशको सुँक्कसुँक्क
फूलहरुको एक यात्रिसमूह
पोल्दो मरुभूमि जसले पार गरी गयो
गहँुमा बास्ना थियो एक किसिमको
आज बारुदले त्यस्लाई खाइदियो
इमान थियो यहाँ शान्तिको
त्यो पनि बिकिरहेछ आज कतै
संसारका प्रकाशलाई
शताब्दीहरु गिल्ला गर्छन्
प्रेमको यो ऋतुमा
कसरी रोप्यौं हामलिे घृणाका बीज?
मानिसको रगत
मानिसलाई सोधिरहेछ
ईसाका पवित्रलाई शूलीले कसरी चुम्यो होला ?
कस्तो रात हो यो
आज दौडदै बित्दै जाँदा
चन्द्रमाको एउटा फूल
खुट्टामुनि खस्न आयो
हिनहिनाए सूर्यका घोडा
खस्यो प्रकाशको काठी
आयुका बाटोमा बढ्दै जाने
पृथ्वीको यात्री रुन लाग्यो
किन झस्किएको रात
अन्धकार केही अमिलिंदै छ
कतैतिर सके आज
विश्वासका जूनकिरी चम्किरहेछन्
फूलको ममतामा चुर्लुम्म
कुनै हाँगा के गर्न सक्छ र
मानिस को भाग्यले
आज मानिसलाई भन्यो ः
“ए रुपका धनी हो प्रेमका धनी हो
फर्क– जाउ फर्क
विश्वासको एक यात्रा
जता गएको छ त्यतैतिर।”
–एशिया महादेशका कविताहरु
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
प्रथम संस्करण २०३० बाट
अनुवादकः चैतन्यकृष्ण उपाध्याय

